Sunday, July 3, 2011

देली बेली काण्डमा सेन्सर बोर्ड पनि दोषी


हिन्दी चलचित्र देली बेली सेन्सर प्रक्रियाका बारेमा निरन्तरको फलोअप पछि यसको भित्री रहस्य पत्ता लागेको छ । सेन्सर बोर्डले चलचित्र देली बेलीको सेन्सर गरेका दृष्य र संवाद नकाटिकन सार्वजनिक प्रदर्शन हुनुमा सेन्सर बोर्डको लचकताको फाइदा चलचित्रले उठाएको सेन्सर बोर्डका एक सदस्यले स्विकारेका छन् ।

सेन्सर बोर्डका सदस्य चेतन सापकोटाले दिएको जानकारी अनुसार १७ गते शुक्रबारबाट नियमित प्रदर्शनमा आएको यस चलचित्रको सेन्सर त्यसको अघिल्लो दिन अर्थात १६ गते बिहीबार अबेर मात्र गरीएको थियो । १६ गते अबेर चलचित्रको सेन्सर भएको र १७ गते बाट सार्वजनिक प्रदर्शनमा आएको यस चलचित्रले सेन्सरले कैची लगाएका दृष्यहरु सहित सार्वजनिक प्रदर्शन गरेको कुरा सेन्सर बोर्डले शुक्रबार नै थाहा पाएको थियो । शुक्रबार चेतन सापकोटाको नेतृत्वमा हलमा अनुगमन गर्ने क्रममा चलचित्रले सेन्सरले कैची लगाएका दृष्य र संवाद नकाटीकन प्रदर्शन गरेको पत्ता लगाएका थिए ।

घटना क्रमलाई बुझ्दै जाने क्रममा त्यस दिन चेतनले चलचित्रको बितरक उज्वल पौडेलका प्रतिनिधि प्रदीप (जो ब्यक्ति चलचित्र सेन्सर गर्न आएका थिए) संग टेलीफोनमा सेन्सरले कैची लगाएका दृष्य सहित चलाउनुको कारण बारे सोधेका थिए । चेतनले नै दिएको जानकारी अनुसार उनले त्यस दिन अर्थात शुक्रबार चलचित्र चलाउन पर्ने भएको र हतारमा नभ्याएका कारण नकाटीएको बताउदै अन्य दिनमा काटेर चलचित्र देखाउने बताएका थिए । उनको यो जवाफ पाएका चेतनले चलचित्रकर्मीहरुको ब्यवहारीक कठीनाईलाई मध्य नजर गर्दै सेन्सर बोर्डले लचकता अपनाएको बताएका छन् । हामीले चलचित्र देली बेलीलाई सेन्सरले किन काटेन भनेर निरन्तर फलोअप गरे पछि सेन्सर बोर्डले आफ्नो लचकताको फाइदा उठाएको भन्दै चलचित्रको सार्वजनिक प्रदर्शनमा रोक लगाउने निर्णय गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको थियो ।


त्यहि पत्रलाई अधार मानेर देशभरका प्रशासन कार्यालयहरुले चलचित्रको सार्वजनिक प्रदर्शनमा रोक लगाएको चेतनले बताएका छन् । आज अबेर प्राप्त जानकारी अनुसार चलचित्रको सार्वजनिक प्रदर्शनमा रोक लगाउने क्रममा प्रहरीले गोपिकृष्ण हलबाट चलचित्रको हार्डडिक्स लिएर गएको उल्लेख गरीएको छ । यस बारे बुझ्न चलचित्रको बितरण गोपिकृष्ण हलका उज्वल पौडेललाई सर्म्पर्क गर्दा सर्म्पर्क हुन सकेन । तर सेन्सर बोर्डका सदस्य चेतन सापकोटाले सेन्सर बोर्डकै पत्रका आधारमा सार्वजनिक प्रदर्शनमा रोक लगाउने क्रममा प्रहरीले गोपिकृष्ण हलबाट चलचित्रको हार्डडिक्स लिएर गएको कुरालाई साँचो भएको भन्दै खबरको पुष्टि गरे ।

चलचित्र सेन्सर बोर्डको लचकता अझ भनौ वेवास्ताका कारण चलचित्र देली बेली सेन्सरले कैची लगाएका दृष्यहरु नकाटी प्रदर्शन भए पछि अब यसले समाजमा उब्जाउने समस्याको जिम्वेवारी को हुन्छ ? र सेन्सर बोर्डको अवज्ञा गर्ने लाई के कारबाही हुन्छ ? भन्ने बारे प्रश्नहरु अहिले उठिरहेका छन् । यिनै प्रश्नहरुको जवाफ खोज्दै हामीले सेन्सर बोर्डका सदस्य चेतनलाई कारबाही प्रक्रियाबारे सोध्दा उनले सार्वजनिक प्रदर्शनमा रोक लगाइसकेको र बाँकी कानुन अनुसार कारबाही हुने बताए । कानुन अनुसार के कारबाही हुन्छ त ? भन्ने प्रश्नमा उनले त्यस बारे प्रमुख जिल्ला अधिकारीलाई सोध्न भन्दै पन्छीए ।

यस्तै चलचित्र संघका महासचिब प्रदिप उदयले कानुनले रोक लगाएका कुनै पनि कुराहरु कसैले देखाउन नहुने भन्दै त्यस्तो गरेमा कानुन अनुसार कारबाही हुनु पर्ने बताएका छन् । उनले बितरकले ल्याएका चलचित्रलाई चलचित्र हलवालाले चलाउने भन्दै यसमा चलचित्र हलको कुनै दोस नभएको बताएका छन् । चलचित्र निर्माता वा बितरकहरुले चलचित्रको सेन्सर गर्ने जनाउदै उदयले हलवालाले बितरक वा निर्माताले दिएको चलचित्र चलाउने बताएका छन् । यसमा मुख्य दोषी बितरक भएको उनको ठहर छ ।


यस्तै नेपाली चलचित्रको सेन्सरमा निर्माताले कयौ कठिनाईहरु भोग्नु पर्ने अनि हिन्दी चलचित्र रातारात सेन्सर भएको र त्यसमाथी पनि सेन्सर बोर्डले लचकता अपनाएको बारे नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार र्राईसंग कुरा गर्दा उनले त्यसको मुख्य जिम्मेबार सेन्सर बोर्ड भएको प्रतिक्रिया दिएका छन् । उनले सेन्सर बोर्डले नियमित अनुगमन गर्नु पर्ने बताउदै यसबाट पर्न जाने सास्कृतिक, सामाजिक, राजनीतक लगायतका सम्पूर्ण असरहरुको जिम्वेवार सेन्सर बोर्डले लिनु पर्ने बताएका छन् । दोषीलाई तत्काल कारबाही गर्न माग गदै उनले शुक्रबारबाट प्रदर्शन हुने चलचित्रलाई बिहिबार सेन्सर नगर्न पटक पटक आग्रह गरेको बताएका छन् । कम्तीमा पनि सोमबार भित्रमा सेन्सर गर्न आफुहरुले सेन्सर बोर्डलाई पटक पटक भनेको र्राईले जनाए ।

सेन्सर बोर्डले हतारमा चलचित्रको जाँच पास गर्दा यस्तो घटना घटेको त पक्कै हो । यो संगै चलचित्र सेन्सर बोर्डले आफुले कैची लगाएका दृष्य सहित चलचित्र चलेको थाहा पाउदा पाउदै तत्काल एक्सन नलिनुले चलचित्र बितरक संगै सेन्सर बोर्ड पनि मुख्य दोसि रहेको स्पष्ट भएको छ । यस्तो अवस्थामा सेन्सर बोर्ड टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सक्दैन भनेर केही दिन अघि मात्रै बताएका सेन्सर बोर्डका अध्यक्ष महेन्द्र गुरागाई हुन वा सेन्सर बोर्डका सदस्य जो कोहीले पनि कारबाही बारे स्पष्ट बोलेका छैनन् । कानुन अनुसार कारबाही हुन्छ भन्ने र पटक पटक लचकता अपनाउनुले यहाँ जसले जे गरे पनि हुन्छ भन्ने स्पष्ट हुदैन र ? अनि यसै गरी सेन्सर बोर्डले काटेका दृष्य सहित चलचित्रको सार्वजनिक प्रदर्शन हुँदा पनि सेन्सर बोर्डले लचकता अपनाउने हो भने सेन्सर बोर्डको के औचित्य ?

No comments:

Post a Comment